Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २७ गते २०८१
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु

राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको (ब्रेक थ्रु) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेसँगै बुधबार सुरुङ ‘ब्रेक थ्रुरु’ गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उहाँले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो । सुरुङ ‘ब्रेक थ्रुरु’ गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नै मुल्कोटमा पुग्नुभएको थियो ।

२०७९ असोज अन्तिममा टिबिएम मेसिनबाट खन्न सुरु गरिएको सुरुङ १८ महिनामै छिचोलिएको हो । आगामी साउन अन्तिमसम्म सुरुङको काम सक्नुपर्ने म्याद थियो । अझै सुरुङको फिनिसिङ गर्न भने एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । २०८४ सालको असोजसम्म सबै काम सक्ने आयोजनाको लक्ष्य छ ।

प्रधानमन्त्रीले स्थानीय जनप्रतिनिधिसँग पनि अन्तक्रिया गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, दुवै जिल्लाका जनप्रतिनिधि, उच्च सरकारी अधिकारीका साथै चिनियाँ राजदूत सोङसहित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

आयोजनाले सिन्धुली र रामेछापको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत् मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

Add a new comment