राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको मूल दस्तावेज निर्माणमा सहयोग हुने उद्देश्यले विषय विज्ञसँग बहश गर्न लागिएको पार्टीले जनाएको हो । यही असोज २९ र ३० गते (सोमबार र मंगलबार) दुई दिन हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको र फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने कार्यक्रम रहेको छ ।
पहिलो दिन अर्थात सोमबार पाँच र दोस्रो दिन अर्थात मंगलबारका लागि २ विषय गरि बहसलाई दुई दिनका लागि बिभाजन गरिएको जनाईएको छ । सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सेसनका लागि छुट्याइएको छ । २९ गते विहान ८ः३० देखि १० बजेससम्म हुने बहसमा बोल्न तथा सहजीकरण गर्न पार्टीबाट विपिन आचार्य, सन्तोष परियार, हरि ढकाल खटाइएको र उहाँहरुको सहजतामा विषय विज्ञहरु सीके लाल, सञ्जिव उप्रेती, अमिना सिंह, उत्तमबाबु श्रेष्ठले आफ्नो विचार राख्ने बताइएको छ।
सोही दिन दोस्रो सेसनमा शिक्षा, नयाँ प्रविधि र युवा छ । डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका लागि आमन्त्रण गरिएको छ । २९ गते विहान १० देखि १२ बजेसम्म हुने उक्त विचार बहसमा पार्टीबाट अनिल केशरी शाह, सुमना श्रेष्ठ, गणेश कार्की र विनिता कठायतले सहजीकरण गर्ने छन् ।
पहिलो दिनको तेस्रो सेसनका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ । डा. संगिता सिंह, डा। अरविन्दकुमार मिश्र, डा. बसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रुपमा धारणा राख्ने छन् । २९ गते दिउँसो १ देखि ३ बजेसम्म हुने सेसनमा पार्टीबाट डा. अरनिको पाँडे, निशा डाँगी र शिव नेपाली सहजीकरण गर्ने छन् ।
सोमबार हुने चौथो सेसनका लागि ‘स्वास्थ्य र पोषण’ विषय छुट्याइएको छ । डा. सन्दुक रुइत, डा. शम्भु आचार्य, डा. किरण रेग्मी, डा. संघरत्न बज्राचार्य र डा.संगिता बस्नेत विषय विज्ञका रुपमा बोल्ने छन् । यो मन्थनमा पार्टीबाट डा. तोसिमा कार्की, डा. चन्दा कार्की, डा. प्रभात अधिकारी र लक्ष्मी तिवारीले धारणा राख्ने तथा सहजीकरण गर्ने छन् ।
पहिलो दिनको अन्तिम बहसका लागि ‘कृषि, पर्यटन र हरित औद्योगिकीकरण’मा चन्द्र ढकाल, पवन गोल्यान, विदुषी राणा, चन्द्र घिमिरे र दिनेश सिलवाल बोल्नेछन् । उक्त विषयमा पार्टीबाट गणेश पराजुली, लिमा अधिकारी, अशोक चौधरी र रमेश प्रसाईँलाई जिम्मेवारी दिइएको छ ।
३० गते बिहान ८ बजेदेखि १० बजेसम्मको लागि ‘आर्थिक शिथिलता र अबको बाटो’ मा छलफल हुनेछ । डा. युवराज खतिवडा, डा. विश्वास गौचन, मौसमी श्रेष्ठ र रामेश्वर खनालले विचार राख्ने छन् । नीति मन्थनका संयोजक डा. स्वर्णिम वाग्लेले पनि सोही सेसनमा बोल्ने छन् । पार्टीबाट विराजभक्त श्रेष्ठ र असिम शाह उक्त सेसनमा बोल्ने थप नेताहरु हुन् ।
नीति मन्थनको अन्तिम सेसन ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ राखिएको छ । उक्त विषयमा धारणा राख्न मधुरमण आचार्य, डा. पूर्ण सिलवाल, डा. अञ्जना शाक्य, डा. निश्चलनाथ पाण्डे र विजयलाल कर्णलाई आमन्त्रण गरिएको छ । मंगलबार बिहान १० बजेदेखि ११ः३० बजेसम्मका लागि समय छुट्याइएको छ । पार्टीबाट शिशिर खनाल, सोबिता गौतम, क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ ।
नेपाल पर्यटन बोर्डको सभा हल प्रदर्शनीमार्गमा हुने कार्यक्रमका लागि सहभागीका लागि अनलाइनबाट फर्म भर्न सकिने व्यवस्था गरिएको छ । सोमबार बिहान ८ बजे उदघाटन पार्टी सभापति रवि लामिछानेले गर्ने छन् । बहस अघि नीति मन्थनको उद्देश्यबारे संयोजक डा. स्वर्णिम वाग्लेले धारणा राख्ने गरि कार्यक्रम निर्धारण भएको छ । नेपाल पर्यटन बोर्डको सभा हल प्रदर्शनीमार्गमा हुने कार्यक्रमका लागि सहभागीका लागि अनलाइनबाट फर्म भर्न सकिने व्यवस्था गरिएको छ ।













