सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले अनलाइन जुवाबारे सूचना लिनका लागी दावा छिरिङसँग कुरा हुने गरेको बताएका छन् । ६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गएर कागज गरेका अधिकारीले तिब्बतीयन मूलका बेल्जियन नागरिक दावासँग २१ जुन २०२१ मा चिनजान र विच्याटमा सम्पर्क स्थापित भएको बताएका छन् ।
सीआईबीसँग कागज गर्दै अधिकारीले भनेका छन्–‘दावा छिरिङले मलाई विच्याटमा केही चिनियाँ नागरिकहरूले अनलाइन जुवा खेलाएर राजस्व चुहावट गरेको सम्बन्धी सूचना दिन्छु भनेका थिए, त्यसै सन्दर्भमा कुराकानी भएको थियो ।’
त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।
यो विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षमा भएका बेला समेत उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।













