राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक विवादमा, महामन्त्री ढकाललाई निलम्बन गर्ने पार्टीको निर्णय
मेरो आर्थिक
असार २० गते २०८१
समयः ७:१३ am
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आन्तरिक विवादमा रुमलिएको देखिएको छ । पार्टीका महामन्त्री डा. मुकुल ढकालको ब्यवहारले त्यस्तो देखिएको हो ।
आफ्नो बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल बुधबारको केन्द्रीय कमिटीको बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित हुनुभयो । उहाँले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गर्नुभए पनि सभापति रवि लामिछानेले सुनुवाइ नगरेको उहाँको आरोप छ । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उहाँले भन्नुभएको थियो ।
महामन्त्री ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिनुभएको थियो । उहाँले आफूलाई बैठकमा हृयारेसमेन्ट गरिएको आरोप लगाउनुभयो । बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ढकालले गोरखा मिडियासँग पनि जोडेर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिनुभयो ।
उहाँले भन्नुभयोे, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जिबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिल्यै पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’ उहाँले बैठकमा आफूलाई जबरजस्ती बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको बताउनुभयो । ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल् कि बोल् भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल् कि बोल् भन्न पाइँदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध ग¥यो, त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दै छ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ रु कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ र मलाई पार्टीको चिन्ता छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको प्रस्ताव पार्टीले ग्रहण नगरेको स्पष्ट पारेको छ । बुधबार केन्द्रीय समितिको बैठक बहिष्कार गरेर हिँडेका महामन्त्री मुकुल ढकालको प्रतिवेदन सभापति रवि लामिछानेको ‘सदासयता’मा वाचन मात्र गरिएको सांसद तथा नेता सन्तोष परियारले बताउनुभयो । बैठकमा पट्टी बाँधेर बसेका महामन्त्री ढकालले ल्याएको प्रतिवेदन कविन्द्र बुर्लाकोटीले वाचन गरेर सुनाउनुभएको थियो । तर, त्यसलाई पार्टीले ग्रहण भने नगरेको उहाँको भनाइ थियो ।
उहाँले महामन्त्री ढकालका गतिविधि अराजक र अनुशासनहीन भएको भन्दै पार्टीले आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । बैठकमा बोल्न नपाएको र अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै पट्टी बाँधेर बसेका ढकालले आफूमाथि ‘हृयारेसमेन्ट’ गरिएको सञ्चारकर्मीसँग बताउनुभएको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पहिलोपटक पार्टी सभापति रवि लामिछानेले राखेका केही प्रस्तावहरू पार्टी बैठकबाट अस्वीकृत भएको बताउनुभयो । बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महामन्त्री डा. मुकुल ढकालले बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेकोमा त्यसलाई सभापतिले पनि बैठकमा गरौँ भन्दा पनि केन्द्रीय सदस्यहरूले भने त्यसलाई नमानेको बताउनुभयो । बैठकमा सबैले महामन्त्रीको प्रतिवेदन ठीकै रहे पनि व्यवहार गलत र गैरजिम्मेवार भएको बताएका थिए । ‘केन्द्रीय सदस्यहरूले महामन्त्रीको प्रतिवेदन ठीकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको हुँदा कारबाही गर्नुपर्छ भन्ने मत राखेका छन्,’ रास्वपाका सहप्रवक्ता मनीष झाले भन्नुभयोे, ‘पार्टी सभापतिले यसरी कारबाही गर्न नहुने र गर्नैपरे यसको लागि निश्चित विधि र प्रक्रिया भएको हुँदा सोअनुसार हुनुपर्ने भन्ने तर्क राख्नुभएको छ ।’
महामन्त्री ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार १२ घण्टा भन्दा समय बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत निलम्बन गरेको हो ।
ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ ।
त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ । बैठकमा महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।