उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तेयोङबीच शिष्टाचार भेट
मेरो आर्थिक
मंसिर १४ गते २०८१
समयः ६:१९ am
काठमाडौँ, १३ मङ्सिरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसगँ नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल र कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले दुई देशबीच एवं जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्त्तर अभिवृद्धि भइरहेको बताउनुभयो ।
नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवले दई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रवद्र्धन गर्न कोसेढुङ्गा सावित गरेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको सामाजिक तथा आर्थिक विकासका लार्ग कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ, नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवद्र्धन र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप र प्रवद्र्धनबाट लाभान्वित हुन चाहन्छौं ।”
कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाइ मोटर्सले नेपालमा ‘असेम्बलीङ’ प्लान्ट स्थापना गरी टेलिभिजन र कार उत्पादन गरिरहेकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले कोरियाको लगानी बढाउन आग्रह गर्नुभयो ।
“पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी विस्तार गरेकामा मलाई खुसी लागेको छ, तथापी लगानीको क्षेत्रमा दुई मुलुकबीच अपेक्षित रुपमा सहकार्य विस्तार हुन सकेको देखिँदैन, तसर्थ आगामी दिनमा नेपालमा कोरियाली लगानी थप विस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा मलाई विश्वास छ ।”
राजदूत तेयोङले नेपालमा कोरिया सरकारले लगानी बढाउन चाहेको बताउनुभयो । उहाँले अहिलेसम्मका लगानी मात्र पर्याप्त नभएको उल्लेख गर्दै नेपालका जुनसुकै क्षेत्रमा लगानी लगाउन कोरिया सरकार तयार रहेको मन्त्री भण्डारीलाई सुनाउनुभयो । तेयोङले लगानीका ठाउँ पाए कोरिया सरकार हरसम्भव तयार रहेको बताउनुभयो ।