राप्रपाले भ्रष्टाचार विरोधी अभियान चलाउने, कार्यसम्पादन समितिले के के निर्णय गर्यो ?


काठमाडौँ । राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्ने र यसको विस्तृत कार्ययोजना पार्टी सचिवालयले तयार पार्ने श्रेष्ठले बताए ।
कार्यसम्पादन समितिको बैठकका निर्णयहरु:
१. रुपन्देहीको क्षेत्र नं ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको सन्दर्भमा,
क) निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको छ ।
ख) सम्भावित उमेदवारहरुको सुची सिफारिस गरी २०८२ असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देश गरिएको छ।
ग) उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ। उक्त परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहनेछ ।
२. पार्टीको स्थानीय, जिल्ला र प्रदेश तहको अधिवेशनहरु असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णयका सन्दर्भमा आजको बैठकमा प्रगति समिक्षा गरिएको छ। अपेक्षाकृत रुपमा अधिवेशनहरु हुन नसक्दा विधानअनुसार यसैवर्ष गर्नुपर्ने महाधिवेशन प्रभावित बन्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय र प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको छ। साथै, आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण अभियान र जिल्ला अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय गरिएको छ।
३. राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्नेछ। साथै, यसको विस्तृत कार्ययोजना पार्टी सचिवालयले तयार पार्नेछ ।
४. भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका सम्बन्धमा:
क) भिजिट भिसा प्रकरणबाट देशको साख, अध्यागमन प्रणालीको विश्वसनीयता र विमानस्थलको सुरक्षा संवेदनशीलतामा समेत प्रश्न उठेको छ। उच्च पदस्थहरुको संरक्षण र निगरानीमा विदेशमा जानेहरुसंग दैनिक पचासौं लाख रुपैयाभन्दा बढी संगठित रुपमा संकलन हुने गरेको भनी संवैधानिक आयोगबाट अनुसन्धान भइरहेको यस विषयमा देशको महत्वपूर्ण राजनीतिक दलहरुको दवाव र विरोधका वावजुद पनि जबर्जस्त संसदीय प्रक्रिया अघि बढाइनु र उच्च तहको संलग्नताका सम्बन्धमा छानबिन गर्ने विषयमा सरकार उदासीन रहनु रहस्यमय र खेदजनक छ। सरकारले उक्त प्रकरणलाई सामान्यीकरण गरेर दोषीलाई उन्मुक्ति दिने प्रयत्न गरिरहेकोमा जिम्मेवार राजनीतिक दलको रुपमा राप्रपाले संसदमा लगातार आवाज उठाउदै आइरहेको विदितै छ। भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्दछ भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ।
ख) निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ्ग अफ पिरियडलाई लागू नगर्न राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि भएको जालझेल र वदनियतका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयमा संसदीय छानविन समिति बनाई दोषीलाई कारबाहीको दायरामा ल्याउन र आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्न राप्रपा माग गर्दछ।
५. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोश्रो साता काठमाण्डौंमा बस्ने निर्णय भएको छ।