पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिनौं- अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी भित्र अन्तर्घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने बताएका छन् ।
पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने बताएका हुन् । उनले भने- ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ, त्यस्तालाई साथ दिनेहरू, त्यस्तालाई प्रोत्साहन दिनेहरू, त्यस्ताको पुच्छर समातेर हिड्नेहरू कोको छन्, पत्ता लगाउनुपर्छ। हाम्रो पार्टी क्रान्तिकारी हो, विद्रोहबाट आएको पार्टी हो ।’
उनले एकीकृत समाजवादी हिम्मत भएकाहरूको पार्टी भएको बताउदै हिम्मत हाराहरूको पार्टीमा कुनै काम नभएको बताए । उनले भने- ‘यस्ता कायरहरूले बाटो छोड्नुपर्छ । कातर मान्छेको कुनै काम छैन। हिम्मतहारा मान्छेको कुनै काम छैन। यो हिम्मत भएका मान्छेहरूको पार्टी हो ।’
नेपालले पार्टीको बारेमा नकारात्मक टिप्पणी हुन थालेको बताउदै आत्मविश्वास नभएकाहरुले यो पार्टीको भविष्य छैन भन्ने गरेको बताए । उनले भने- ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ । कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्, सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन ।’