Skip to content
logo
पौष ७ गते २०८१ समयः

बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३५ प्रतिशतले बृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २७ गते २०८१
बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३५ प्रतिशतले बृद्धि

वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको चालु आ.व.को कात्तिकसम्मको तथ्यांक हेर्दा गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा २२ अर्ब ३१ करोड ११ लाख रुपैयाँले बढेको हो ।

चालु आवको कात्तिकसम्ममा वाणिज्य बैंकहरुले ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका केन्द्रिय बैंकले जनाएको छ । गत आवको कात्तिकसम्म यस प्रकारको कर्जा ६३ अर्ब ६० करोड प्रवाह भएको थियो । जुन ३५.०८ प्रतिशतले बढी हो ।
कात्तिकसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले समग्रमा १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ । ४ महिनामा मात्रै वाणिज्य बैंकहरुले प्रवाह गरेको सेयर कर्जा २५ प्रतिशतले बढेको छ । गत असारसम्म ६८ अर्ब ६२ करोड ४४ लाख सेयर कर्जा प्रवाह भएकोमा कात्तिकसम्म आइपुग्दा ८५ अर्ब ९१ करोड १४ लाख पुगेको हो ।
यता ४ महिनाको अवधिमा बैंकहरुले १७ अर्ब २८ करोड सेयर कर्जा प्रवाह गरेका छन् । असोजको तुलनामा भने कात्तिकमा वाणिज्य बैंकहरुको सेयर कर्जा १ अर्ब ७० करोड १० लाख रुपैयाँले बढेको छ । समग्र बैंक–वित्तीय संस्थाले १ अर्ब ९४ करोड ३ लाख रुपैयाँ सेयरमा ऋण लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई लाग्दै आएको २० करोडको सीमा खारेज गरेको छ । यो व्यवस्थाले पनि ठूला लगानीकर्ता उत्साहित भएकाले सेयर कर्जा बढेको बिश्लेषकहरुको भनाइ छ । सेयर कर्जामा व्यक्तिगत लगानीकर्ताले कर्जा लिन पाउने अधिकतम १५ करोडको सीमा भने यथावत छ । सेयरलगानीकर्ताहरुले यसलाइ हटाउनु पर्ने माग राख्दै आएका छन् ।

योसँगै गत आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आवको कात्तिकमा व्यक्तिगत ओभरड्राफ्ट कर्जा ३.४८, चालु पुँजी कर्जा ८.५९ र विपन्न वर्ग कर्जा ५.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी चालु पुँजी कर्जा ७० अर्ब ९२ करोडले घटेको छ । विपन्न वर्ग कर्जा १५ अर्ब १७ करोड तथा ओभरड्राफ्ट कर्जा ३ अर्ब १९ करोडले घटेको छ ।

समीक्षा अवधिमा सेयर कर्जा, आवधिक कर्जा, आयात कर्जा, आवासीय घर कर्जा, हायर पर्चेज, क्यास क्रेडिट, रियल स्टेट, बिल्स खरिद र अन्य प्रकारका कर्जाहरु भने बढेका छन् ।

Add a new comment